नेकपा एमालेले युवाशक्ति, संगठनात्मक अनुभव र जनसमर्थनको सन्तुलित संयोजनका रूपमा अस्विन कार्कीलाई प्रतिनिधिसभा निर्वाचनका लागि सशक्त उम्मेदवारका रूपमा अघि सारेको जनाएको छ। पछिल्लो राजनीतिक परिस्थितिमा देखिएको जनआकांक्षा र परिवर्तनको मागलाई सम्बोधन गर्न युवा नेतृत्व अपरिहार्य भएको निष्कर्षसहित पार्टीले उनको नाम सिफारिस गरेको हो।
पार्टीभित्र युवामैत्री, गतिशील र वैचारिक रूपमा सुदृढ संगठन निर्माणमा सक्रिय भूमिका खेल्दै आएका कार्की निरन्तर जनसम्पर्कमा रहने, जनपक्षीय भूमिकामा उभिने र व्यवहारमै जनप्रेमी नेतृत्व प्रस्तुत गर्ने नेताका रूपमा परिचित छन्। संगठनदेखि जनस्तरसम्म उनको सक्रियता र पहुँचलाई पार्टीले सकारात्मक रूपमा मूल्याङ्कन गरेको बताइएको छ।
अस्विन कार्कीले पछिल्ला राजनीतिक घटनाक्रमले देशलाई निर्णायक मोडमा ल्याएको उल्लेख गर्दै अब आम जनताको चाहनाअनुसार वास्तविक परिवर्तन आवश्यक रहेको धारणा व्यक्त गरेका छन्। उनका अनुसार विगतमा भएका राजनीतिक संघर्ष र बलिदानको मर्म पनि परिवर्तनकै पक्षमा थियो र आजको आवश्यकता पनि विकास र सुशासनका लागि नयाँ सोच र नयाँ नेतृत्व हो।
उनले पार्टी पुनर्निर्माण र देशलाई निकास दिन युवाको सक्रिय सहभागिता अपरिहार्य भएको बताउँदै युवालाई जागरुक, जिम्मेवार र परिवर्तनको संवाहक बन्न आह्वान गरेका छन्। “सधैँ एउटै अनुहार र एउटै व्यक्तिलाई मात्र अवसर दिने प्रवृत्तिले अब परिवर्तन सम्भव हुँदैन,” कार्कीको भनाइ छ, “जनताको मनोभावना बुझेर एमालेले नयाँ अनुहार र नयाँ ऊर्जा अघि सार्नुपर्छ।”
पार्टी स्रोतका अनुसार जनचाहना, पछिल्ला घटनाक्रमको सन्देश र समग्र राजनीतिक मागलाई मध्यनजर गर्दै एमालेले यसपटक युवालाई केन्द्रमा राखेर उम्मेदवारी चयन गर्ने दिशामा गम्भीर छलफल अघि बढाएको छ। सोही सन्दर्भमा अस्विन कार्कीको उम्मेदवारीलाई परिवर्तन, विकास र आशाको प्रतिनिधि मानिएको छ।