काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको विषयलाई लिएर आन्तरिक राजनीति झन् चर्किएको छ। विशेष महाधिवेशनको माग गर्दै आएका नेता–कार्यकर्ता समूहले पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना तथा घेराउ गर्दै नेतृत्वप्रति असन्तोष प्रकट गरेका छन्।
पार्टीको १५ औँ नियमित महाधिवेशन निर्धारित समयमै हुन नसकेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशनको तयारीले गति लिएको छ। तर विधानले स्पष्ट व्यवस्था गरेको समयसीमाभित्र माग सम्बोधन नगरेको भन्दै विशेष महाधिवेशन पक्षधरहरू आक्रोशित बनेका हुन्।
कांग्रेस विधानको धारा १७(२) अनुसार महाधिवेशन प्रतिनिधिहरूको बहुमत अर्थात् ५४ प्रतिशतभन्दा बढी प्रतिनिधिले हस्ताक्षरसहित माग गरेपछि विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ। यही प्रावधानअनुसार २ हजार ४ सय ८८ भन्दा बढी प्रतिनिधिले हस्ताक्षर बुझाएको करिब तीन महिना पुग्न लाग्दा पनि केन्द्रिय नेतृत्व मौन बसेको आरोप पक्षधरहरूले लगाएका छन्।
आक्रोशित कार्यकर्ताहरूले सानेपामा नाराबाजी गर्दै नेतृत्वको ढिलासुस्तीको विरोध जनाएका थिए। उनीहरूले पुस मसान्तभित्रै विशेष महाधिवेशन सम्पन्न गर्ने लक्ष्यसहित भृकुटीमण्डपमा हल बुकिङसमेत गरिसकेका छन्।
यद्यपि संस्थापन पक्षले भने विशेष महाधिवेशनको सट्टा नियमित महाधिवेशनलाई आगामी वैशाखमा सारेर अघि बढ्ने निर्णय गरेको छ। यस निर्णयले पार्टीभित्रको मतभेद थप गहिरिँदै गएको देखिन्छ।
कांग्रेसभित्रको यो आन्तरिक द्वन्द्वले आगामी फागुनमा हुने संसदीय निर्वाचनमा प्रत्यक्ष प्रभाव पार्ने चिन्ता पनि बढ्दै गएको छ। पार्टी एकताका लागि निरन्तर संवाद भइरहेको दाबी गरिए पनि हालसम्म ठोस सहमति जुट्न सकेको छैन, जसले कांग्रेसको आन्तरिक राजनीति अझै अनिश्चित बनेको छ।