×

रास्वपा–बालेन समूहबीचको निर्णायक वार्ता अनिश्चित, पावर सेयरिङमै अड्कियो सहमति

खालीपाना न्युजडेस्क | ३ हप्ता अगाडि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको समूहबीच शनिबार हुने भनिएको निर्णायक वार्ता अनिश्चित बनेको छ । शुक्रबार रातिसम्म भएको दुई पक्षीय छलफलमा बालेन पक्षले ५०–५० प्रतिशत पावर सेयरिङको प्रस्ताव अघि सारेपछि सहमति जुट्न नसकेको हो ।

श्रोतका अनुसार शुक्रबारको बैठकमा रास्वपाका सभापति रवि लामिछानेलाई नेतृत्व दिने र भावी प्रधानमन्त्रीका रूपमा बालेन शाहलाई अघि सार्ने विषयमा प्रारम्भिक समझदारी बनेको थियो । तर केन्द्रीय समिति गठन तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार छनोटमा आधा–आधा हिस्सा माग गरिएपछि त्यसमा सहमति हुन सकेन ।

वार्तामा ठोस निष्कर्ष ननिस्किएपछि बालेन शाहले उज्यालो नेपालका संरक्षक कुलमान घिसिङसँग परामर्श गरी पुनः छलफलमा बस्ने तयारी गरेको भनिए पनि अहिलेसम्म त्यसबारे कुनै औपचारिक जानकारी नआएको रास्वपा पक्षको भनाइ छ । शनिबार बिहान कुलमान र बालेन समूहबीच छलफल भए पनि त्यसबाट पनि कुनै ठोस प्रस्ताव सार्वजनिक हुन सकेको छैन ।

रास्वपाले शनिबार बालेनसँग छलफल हुने बताएको भए पनि वार्ता कहिले हुने भन्ने विषय टुङ्गोमा पुग्न नसकेको श्रोतले जनाएको छ । श्रोतका अनुसार आज रवि लामिछाने र बालेन शाहबीच प्रत्यक्ष छलफलको सम्भावना देखिएको छैन । समानुपातिकतर्फको बन्द सूची बुझाउने म्याद १४ गतेसम्म भएकाले तत्काल हतार गर्नुपर्ने अवस्था नरहेको रास्वपाको बुझाइ छ ।

यता बालेन समूह भने कुलमान घिसिङको भूमिकाको प्रतीक्षामा रहेको र वार्तामा रेशम चौधरी तथा सिके राउतलाई पनि समेट्नुपर्ने प्रस्ताव अघि सारेको बताइएको छ ।

मंगलबार रातिदेखि रास्वपाका राजनीतिक वार्ता समितिका सहसंयोजक शिशिर खनाल, अमित शाह तथा बालेन समूहबाट कुमार बेन, स्वकीय सचिव भूपदेव शाहलगायतबीच निरन्तर छलफल भए पनि अहिलेसम्म कुनै ठोस निष्कर्ष ननिस्किएको श्रोतले जनाएको छ ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x