२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे आगामी प्रतिनिधि सभाको चुनावमा उम्मेदवार नहुने भएका छन्।
२०७९ सालमा बाजुराबाट प्रत्यक्ष निर्वाचित पाण्डेले चुनावी प्रतिस्पर्धामा नउत्रिने निर्णय गरेका कारण उनको नाम सिफारिस गरिएको छैन।
पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहिसकेका पाण्डेले नयाँ पुस्तालाई अवसर दिन आफू चुनाव नलड्ने निर्णय गरेको जानकारी दिएका छन्।
उनले अनलाइनखबरसँग भने, “सांसद र मन्त्री भइसकेँ। नयाँ पुस्तालाई अवसर दिनुपर्छ भन्ने सोचेर चुनाव नलड्ने निर्णय गरेको हुँ। अहिले मेरो प्राथमिकता पार्टीलाई वैचारिक रूपमा सुदृढ र सक्रिय बनाउनु हो।”
पाण्डेले प्रतिनिधि सभा प्रत्यक्ष, समानुपातिक वा राष्ट्रिय सभा उम्मेदवारका लागि इच्छाशक्ति नरहेको बताएका छन्। जेनजी आन्दोलनका बेला उनी सरकारमा रहेका भए पनि, आन्दोलनसँगको अन्तर्क्रियामा प्रत्यक्ष भूमिका नलिएकाले पनि आफूले नैतिक जिम्मेवारी लिने अनुभव रहेको बताए।
उनले थपे, “यसपटक निर्वाचनमा नउत्रिनु मेरो लागि उचित निर्णय हो। पार्टीको सुदृढीकरणमा मेरो ध्यान केन्द्रित हुनेछ।”