१६ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनपछि काठमाडौँसहित विभिन्न जिल्लामा भएको उच्छृङ्खल गतिविधिपछि प्रहरीले देशभरबाट सयौं अभियुक्तलाई पक्राउ गरेको छ । आन्दोलनका नाममा हिंसात्मक कार्य, आगजनी, तोडफोड र प्रहरीमाथि आक्रमणमा संलग्नहरूलाई पक्राउ गरी अनुसन्धान तीव्र पारिएको प्रहरीले जनाएको छ ।
काठमाडौँमा ‘टीओबी’ लेखिएको टिसर्ट लगाएर प्रदर्शनमा सहभागी भएका तेन्जिङ दावा लामालाई असोज २६ गते प्रहरीले नियन्त्रणमा लिएको थियो । लामा समूहले बुलेट मोटरसाइकल पड्काउँदै बिजुलीबजार क्षेत्रमा भिडलाई उत्तेजित पारेको भिडियो प्रमाण फेला परेको छ । प्रहरीले लामाको नागरिकता र पहिचानबारे पनि अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रहरीका अनुसार लामाले महानगरपालिका–६ बौद्धमा २०६३ चैत १० मा जन्मदर्ता गरेको देखिए पनि सो मितिमा शनिबार परेको कारण दर्ताको वैधानिकता शंकास्पद रहेको बताइएको छ । उनले ‘टीओबी बाइकर्स’ नामक समूहमा आबद्ध रही आफू तिब्बतियन मूलको नेपाली भएको बयान दिएका छन् ।
यसैबीच, बुढानीलकण्ठस्थित पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको घरबाट बुद्ध मूर्ति र शङ्ख चोरीको आरोपमा विजय लामालाई प्रहरीले पक्राउ गरेको छ । चितवनको कालिका नगरपालिका–६ टाँडीका लामा भदौ २४ गतेको घटनामा संलग्न रहेको अनुसन्धानमा खुलेको हो । उनको डेराबाट बुद्ध र गणेशका मूर्ति तथा शङ्ख बरामद गरिएको प्रहरीले जनाएको छ ।
जेनजी आन्दोलनका क्रममा महाराजगञ्ज र कोटेश्वरमा प्रहरीमाथि आक्रमण हुँदा तीन प्रहरीको ज्यान गएको थियो । ती घटनामा संलग्न १० जनाभन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ । महाराजगञ्जमा प्रहरीमाथि कुटपिट र हत्या गरेको आरोपमा गोरखा, तनहुँ, सर्लाही र रामेछापका पाँच युवालाई पक्राउ गरिएको हो । उनीहरूबाहेक चारजना यसअघि नै पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।
कोटेश्वरमा प्रहरी हत्या प्रकरणमा कैलालीका १९ वर्षीय अनुपम भण्डारी पक्राउ परेका छन् ।
प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार भदौ २३ र २४ का घटनापछि देशभरबाट हालसम्म ३३५ जना पक्राउ परेका छन् । “२० जिल्लाबाट आरोपीहरू पक्राउ परेका छन्, आगजनी र हत्यासम्बन्धी मुद्दा प्राथमिकताका साथ अनुसन्धान भइरहेको छ,” उनले बताए ।
काठमाडौं उपत्यकामा मात्रै १३० जना पक्राउ परेका छन् । तीमध्ये ७० जनालाई हाजिर जमानीमा रिहा गरिएको र बाँकी ५४ जना हिरासतमा रहेको जिल्ला प्रहरी परिसरका एसएसपी रमेश थापाले जानकारी दिए ।
प्रहरीले काठमाडौंबाट मात्रै लुटिएका २३ थान हतियार फिर्ता पारेको र हतियार लुटपाटमा संलग्न २३ जना पक्राउ गरिएको जनाएको छ । साथै, ७४ जना फरार कैदीलाई पक्राउ गरी सम्बन्धित कारागारमा बुझाइएको छ ।
अहिले पक्राउ परेकाहरू विरुद्ध प्रहरीले आपराधिक उपद्रव, कर्तव्य ज्यान, अभद्र व्यवहार, चोरी, हातहतियार र कारागार ऐनअन्तर्गतका ६ मुद्दामा अनुसन्धान अघि बढाइरहेको छ ।