काठमाडौँ — अफलाइनमा पठाओ सेवामा संलग्न भएर सवारी सञ्चालन गरेको आरोपमा प्रहरीले बालाजुस्थित माछापोखरी क्षेत्रबाट सात जना राइडरलाई नियन्त्रणमा लिएको छ।
उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा प्रहरी वृत्त बालाजुबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा दोलखाको बैतेश्वरका टेक बहादुर अधिकारी, गोरखाका जीवन कुमाल, नुवाकोटका नारायण पुडासैनी, तार्केश्वरका रामभक्त अर्याल, धादिङका रोशन चेपाङ, नुवाकोट तादीका केदार तिमल्सिना र धादिङकै कुलबहादुर गुरुङ रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदिप चन्दका अनुसार, अफलाइनमा सेवा सञ्चालन गर्दा यात्रुहरूको सुरक्षामा जोखिम हुने भएकाले उनीहरूलाई नियन्त्रणमा लिइएको हो। उनले भने, “हिजो नियन्त्रणमा लिएको हो, अहिले सम्झाइ–बुझाइ गरेर छाड्ने तयारीमा छौं।”
प्रहरीका अनुसार, पठाओ सेवा अनलाइन मार्फत नियमन हुने भए पनि केही व्यक्तिहरूले सो सेवा अफलाइनमा प्रयोग गर्दै यात्रु चढाउने गरेको पाइएको छ, जसले यात्रुको सुरक्षामा चुनौती उत्पन्न गर्न सक्छ
