रूपन्देही — आगामी कात्तिक १७ मा हुने उपनिर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देही–३ निर्वाचन क्षेत्रका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ। यस क्रममा पार्टीले उम्मेदवारका आकांक्षीहरूको प्रारम्भिक नामावली बिहीबार बिहान १० बजे सार्वजनिक गर्ने जनाएको छ।
रास्वपाले साउन ७ गतेदेखि २७ गतेसम्म आवेदन संकलन गरेको थियो। सो समयावधिमा पार्टीका केन्द्रीय सदस्य कुसुम महर्जन तथा रूपन्देही–३ का क्षेत्रीय सभापतिलगायतले उम्मेदवारीका लागि नाम दर्ता गराएका छन्।
उम्मेदवारको नामावलीमा परेका व्यक्तिहरूमाथि दाबी र विरोधका लागि शुक्रबार र शनिबार दुई दिने समयावधि छुट्याइएको छ। शनिबार नै औपचारिक नामावली प्रकाशन गरी साउन २५ गते उम्मेदवारहरूसँग छलफल गरिने कार्यक्रम रहेको पार्टी स्रोतले जनाएको छ।
साउन २६ गते उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गर्ने र साउन २७ देखि भदौ ११ गतेसम्म लिडरसिप एकेडेमी, राजनीतिक समझदारी (पोलिटिक प्रोक्सिमिटी) र समावेशिताको आधारमा मूल्यांकन गरिने बताइएको छ।
यस प्रक्रियापछि भदौ १२ र १३ गते प्रारम्भिक छनोटमा परेका तीन उम्मेदवारबीच अन्तरिक निर्वाचन गराइनेछ भने अन्तिम उम्मेदवारको नाम भदौ १५ गते तय गरिनेछ।