सुदूरपश्चिम प्रदेशका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालित १३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयमा समायोजन गर्न अनुरोध गरेका छन्। नेकपा (एमाले) का सचिव लेखराज भट्टको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग भेट गर्दै ती क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पसमा रूपान्तरण गर्न माग राखेको हो।
टोलीले समायोजनको माग गरेका क्याम्पसहरूमा कञ्चनपुरको भानु बहुमुखी क्याम्पस दोधरा चाँदनी, अछामको अछाम बहुमुखी क्याम्पस मङ्गलसेन, कैलालीको लम्की र घोडाघोडी बहुमुखी क्याम्पस, डोटीको केदार ज्योतिपुञ्ज क्याम्पस, दार्चुलाको शङ्करपुर क्याम्पस र कञ्चनपुरकै कृष्ण वैजनाथ क्याम्पस रहेका छन्।
त्यस्तै बैतडीको पुचौडी क्याम्पस हाट र गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेज, बझाङको बझाङदीप र सुनकुडा क्याम्पस, डडेल्धुराको भीमदत्त क्याम्पस र कञ्चनपुरकै महाकाली क्याम्पसलाई पनि सुदूरपश्चिम विश्वविद्यालयमा समायोजनको प्रस्ताव गरिएको छ।
भेटमा अनेरास्ववियुका पूर्व उपाध्यक्ष गोविन्द गिरीले प्रधानमन्त्री ओलीले आफ्नो अघिल्लो कार्यकालमै सुदूरपश्चिम विश्वविद्यालयको सभाबाट यी क्याम्पसहरूलाई समायोजन गर्ने निर्णय गरिसकेको उल्लेख गर्दै, चाँडै कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए।
उक्त अवसरमा एमालेका वरिष्ठ नेताहरू गणेश ठगुन्ना, पूर्वमुख्यमन्त्री राजेन्द्र रावलसहितका नेताहरू पनि उपस्थित थिए।
