श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकहरूलाई सूचना प्रवाह सहज बनाउन प्रविधिको प्रयोग गरिने जानकारी दिएका छन्।
आइतबार मन्त्रालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जान चाहने वा विदेशमा कार्यरत नेपाली श्रमिकहरूले आवश्यक सूचना नपाउँदा समस्या भोग्नुपर्ने अवस्थालाई समाधान गर्न प्रविधिमा आधारित उपाय अघि सारिएको बताए।
उनका अनुसार, श्रमिकहरूलाई सिधै जानकारी दिन सक्ने बहुभाषिक एआई च्याटबोट प्रणाली लागू गर्न लागिएको छ। “अब श्रमिकहरूले फेसबुक, ह्वाट्स एप वा वेबसाइटमार्फत दूतावाससँग च्याट गरेर वा प्रश्न सोधेर तत्काल उत्तर पाउनेछन्,” उनले भने।
नेपालका दूतावासहरूमा अत्यधिक फोन कल आउँदा पनि कर्मचारी संख्या कम भएकाले सेवाग्राहीहरू समस्या भोगिरहेका छन्। यस समस्यालाई हल गर्न श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच सहकार्यमा ‘श्रम सञ्चार’ मोबाइल एपमा एआई च्याटबोट र कल सेन्टर प्रणाली समावेश गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइएको छ।
कार्यक्रममा एनआरएनएको प्रविधिक टोलीले मन्त्री भण्डारी तथा मन्त्रालयका अधिकारीहरूलाई डिजिटल प्रणालीको डेमो समेत प्रस्तुत गरेको थियो। प्रारम्भिक चरणमा यो सेवा युएईबाट पाइलट प्रोजेक्टको रूपमा सुरु गरी क्रमशः अन्य देशमा विस्तार गरिने सहमति भएको छ।
यस प्रणालीमार्फत वैदेशिक श्रमिकहरूले केवल सूचना मात्रै होइन, टेलिमेडिसिन सेवा, स्वास्थ्यसम्बन्धी परामर्श, तथा अन्य सहयोग पनि पाउने अपेक्षा गरिएको छ।
एनआरएनए अध्यक्ष महेशकुमार श्रेष्ठले कार्यक्रममा मन्तव्य दिँदै श्रममन्त्री शरत भण्डारी र परराष्ट्रमन्त्री आरजु राणा देउवाको सक्रिय पहलप्रति आभार व्यक्त गरेका थिए।
