कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले आफूले कुनै पनि कर्मचारीसँग घुस मागेको आरोप निराधार भएको दाबी गरेका छन्।
आइतबार बसेको प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले QR कोडमार्फत घुस मागिएको भनिएको विषयमा स्पष्ट पारेका हुन्। उनले त्यस्तो कुनै कार्यमा आफू संलग्न नरहेको दाबी गर्दै आरोप लगाउनेहरूलाई प्रमाण पेश गर्न चुनौतीसमेत दिए।
मन्त्री मण्डलले गायक नवीन के. भट्टराईको चर्चित गीत “खाँदै नखाएको विषले जिउँदै मार्यो” को बोल उद्धृत गर्दै आफू निर्दोष भएको संकेत गरे।
‘बजारमा देखिएको QR कोड मेरो मोबाइलमा आएको थिएन,’ भन्दै उनले उक्त QR कोड कहाँ, कसले, के प्रयोजनका लागि प्रयोग गर्यो भन्नेबारे आफू अनभिज्ञ रहेको दाबी गरे।
QR कोड पठाउने व्यक्ति अमृत मेहता मन्त्री मण्डलकै सहयोगी भए पनि सचिवालयमा औपचारिक नियुक्ति नभएको उल्लेख छ। अमृतले आफ्ना भाई सन्तोष मेहताको नाममा नियुक्ति लिएर काम गरिरहेका थिए।
अमृतमाथि पार्टी तथा कार्यकर्ता व्यवस्थापनका लागि रकम जुटाउने उद्देश्यले QR कोड पठाएको आरोप लागेको छ। सो विवाद सार्वजनिक भएपछि मन्त्री मण्डलले अमृतलाई सचिवालयबाट हटाएका हुन्।
प्रदेशसभा बैठकमा मन्त्री मण्डलले क्युआर कोड प्रकरणमा आफ्नो कुनै सरोकार नरहेको दोहोर्याउँदै भने, “मेरो सचिवालयका सदस्य नभएका व्यक्तिले के प्रयोजनका लागि QR पठाए भन्ने कुरा अनुसन्धानका लागि सम्बन्धित निकायलाई आग्रह गर्छु।”
उनले आफ्नो छवि बिगार्ने नियतका साथ झूठा र आधारहीन आरोप लगाइएको गुनासो गरे। “गल्ती देखाउने तर प्रमाण नदिने? के साँच्चै मैले मोबाइलबाट क्युआर पठाएको थिएँ?” भन्दै उनले आरोपप्रति असन्तोष व्यक्त गरे।
अन्त्यमा मन्त्री मण्डलले भने, “कागले कान लग्यो भन्दै दौडिने काम म गर्दिनँ। यदि मैले वा मेरो सचिवालयले पैसा मागेको प्रमाण छ भने, त्यो ल्याएर देखाउन चुनौती दिन्छु।”
