इजरायली सुरक्षाबलले गाजा क्षेत्रमा भइरहेका सैन्य कारबाहीलाई आंशिक रूपमा रोक्ने निर्णय लिएको छ। बीबीसीको रिपोर्ट अनुसार गाजाको तीन स्थानमा इजरायलले रणनीतिक रूपमा लडाइँ रोक्ने जानकारी दिएको हो।
गाजाको दयनीय मानवीय अवस्था, भोकमरीका कारण हुने दैनिक मृत्यु र सहायता आपूर्तिको कठिनाइलाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको जनाइएको छ।
इजरायली रक्षा सेनाले (IDF) सार्वजनिक गरेको जानकारी अनुसार अल–मावासी, देयर अल–बलाह र गाजा सहरका केही भागमा विशेष समयका लागि लडाइँ रोकिनेछ। थप सूचनासम्म बिहान १० बजेदेखि साँझ ८ बजेसम्मका लागि सैन्य गतिविधि स्थगन गरिएको हो।
मानवीय राहतको पहुँच सुनिश्चित गर्नका लागि बिहान ६ बजेदेखि ९ बजेसम्म सुरक्षित बाटो खोलिएको पनि जनाइएको छ। यसबाट खाद्यान्न, औषधि तथा अन्य अत्यावश्यक सामग्री गाजाभित्र पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार मात्र भोकका कारण पाँच जनाको ज्यान गएको छ। यससँगै भोकमरीले ज्यान गुमाउनेको संख्या १२७ पुगेको छ, जसमा दुई तिहाइ बालबालिका रहेको उल्लेख गरिएको छ।
युद्धग्रस्त क्षेत्रको गम्भीर मानवीय संकटलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायको चासो बढिरहेका बेला इजरायलको यो कदम आएको हो।
