हुम्ला र मुगु जिल्लालाई जोड्ने चङ्खेली गाउँपालिकाको लोतीखोलामा निर्माण गरिएको बेलिब्रिजको काम सम्पन्न भएको छ।
कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास निर्देशनालयमार्फत, जिल्लास्थित पूर्वाधार विकास कार्यालयले करिब चार करोड ९८ लाख रुपैयाँ लागतमा यो पुल निर्माण गरेको हो।
पूर्वाधार विकास कार्यालयका प्रमुख इञ्जिनियर नरेशराज जैसीका अनुसार ४२ मिटर लामो यो बेलिब्रिज कर्णाली नदीको सतहबाट १० मिटर माथि निर्माण गरिएको छ। पुलको उचाइ ३.१५ मिटर छ भने यसमा तीनवटा प्यानल र तीनवटा डेक प्रयोग गरिएको छ।
पुल नहुँदा लोतीखोलामा वर्षायाममा ठूलो समस्या थियो। वर्षातको भेलले काठे पुल बगाउने हुँदा स्थानीय तुइनको सहारामा यात्रा गर्न बाध्य थिए। हल्का सवारीका लागि बनाइने अस्थायी काठे पुल पनि हिउँदेयाममा मात्र उपयोगी हुने गर्दथ्यो।
गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीका अनुसार बेलिब्रिज स्थापनासँगै चङ्खेली गाउँपालिकाका तीन वडा र गाउँपालिका केन्द्रबीचको तुइन यात्रा अन्त्य भएको छ।
उनका अनुसार लामो समयदेखिको पहलपछि करिब पाँच महिनामा निर्माण कार्य पूरा भएको हो। सवारीसाधनका लागि भरपर्दो संरचना निर्माण भएकाले अब मुगु, जुम्ला, हुम्ला र आसपासका नागरिकलाई कैलाश मानसरोवर वा राराताल जानका लागि वैकल्पिक बाटो रोज्नुपर्ने बाध्यता हटेको छ।
लोतीखोलाको यो बेलिब्रिज यही साउन १३ गते औपचारिक रूपमा उद्घाटन गरिने छ। चङ्खेलीको सलीसल्लाबाट मुगुको भट्याचौरसम्म ग्रामीण पहुँच कार्यक्रम (RAP-III)ले निर्माण गरेको बाटो सञ्चालनमा आएको करिब चार वर्षपछि पुल निर्माण सम्पन्न भएको हो।
यो संरचनाले हुम्ला–मुगु लिङ्क मात्र नभई तीन जिल्ला सदरमुकामसँगको सीधा यातायातसमेत सहज बनाउने अपेक्षा गरिएको छ।

