रौतहटको चन्द्रपुर नगरपालिका–१ नुनथरस्थित बागमती नदीमा डुबेर एक भारतीय किशोरको मृत्यु भएको छ। बिहारको सीतामढी जिल्लाबाट आएका १४ वर्षीय पवनकुमार साहको शव शनिबार बिहान फेला परेको हो।
मृतक किशोर भारतको सीतामढी जिल्लाअन्तर्गत ग्राम जमुआहा १ पञ्चायत मठियाका शिवशंकर साहका छोरा हुन्। शुक्रबार साँझ करिब ७ बजे बागमती नदीमा जल लिने क्रममा उनी डुबेर बेपत्ता भएका थिए।
शनिबार बिहान पवनकुमार बेपत्ता भएको जानकारी परिवारले इलाका प्रहरी कार्यालय चन्द्रपुरलाई दिएपछि खोजी कार्य सुरु गरिएको थियो। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले बिहान सवा १० बजे घटनास्थलबाट करिब १५० मिटर दक्षिण झोलुङ्गे पुल नजिक तैरिरहेको अवस्थामा शव फेला पारेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपककुमार रायले जानकारी दिए।
पवनकुमारको शव उनको परिवारद्वारा पहिचान गरिएको छ। परीक्षण तथा आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि शव परिवारको जिम्मामा बुझाउने तयारी भइरहेको डीएसपी रायले बताए।
यस घटनाले नदी किनारमा बालबालिका तथा सर्वसाधारणको सुरक्षासम्बन्धी चासो फेरि सतहमा ल्याएको छ।

