उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग रोजगारदाताको अन्तर्राष्ट्रिय संस्था ‘इन्टरनेसनल अर्गनाइजेसन अफ इम्प्लोयर्स’ (आईओई) का महासचिव रोबर्टो स्वारेज सान्तोसले काठमाडौंमा शिष्टाचार भेट गरेका छन्।
भेटका अवसरमा मन्त्री भण्डारीले कोभिड महामारी र विश्व आपूर्ति प्रणालीमा देखिएका अवरोधबीच नेपाल आर्थिक पुनरुत्थानको चरणमा रहेको जानकारी गराउँदै आर्थिक वृद्धिमा निजी क्षेत्रको योगदान उल्लेखनीय रहेको बताए। सरकारले व्यवसाय र लगानीमैत्री वातावरण निर्माणमा ध्यान केन्द्रित गरिरहेको समेत उनले स्पष्ट पारे।
उनका अनुसार हाल नेपालमा वैदेशिक लगानी भित्र्याउने प्रयोजनका लागि नीतिगत, कानुनी र प्रक्रियागत सुधारहरू अगाडि बढाइएका छन्, जसको प्रतिफलस्वरूप विगतका केही वर्षमा वैदेशिक लगानी स्वीकृतिको दरमा निरन्तर वृद्धि भइरहेको छ।
मन्त्री भण्डारीले नेपाल सन् २०२६ मा अति कम विकसित मुलुकको सूचीबाट स्तरोन्नति हुँदै गरेको अवस्थामा दीगो विकास लक्ष्य हासिल गर्न स्रोत, प्रविधि, क्षमता विकास र साझेदारी आवश्यक रहेको बताए। यस सन्दर्भमा उनले आईओई र नेपालको निजी क्षेत्रबीच सहकार्यको सम्भावना उजागर हुने अपेक्षा व्यक्त गरे।
महासचिव सान्तोसलाई नेपालमा उपलब्ध लगानी अवसरहरूबारे जानकारी दिँदै उनले विश्वव्यापी लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गर्न आग्रह गरे। साथै, साना तथा मझौला उद्यमीहरूको सीप तथा प्रविधिको पहुँच विस्तारमा सहयोग पुर्याउन समेत अनुरोध गरे।
आईओई महासचिव सान्तोसले नेपाल भ्रमणले यहाँको लगानी सम्भावना र अति कम विकसित मुलुकबाट स्तरोन्नतिका अवसर र चुनौतीबारे थप बुझ्न मद्दत पुगेको बताए। उनले नेपालको साना तथा मझौला व्यवसायमा सहकार्यको पहल भइसकेको जनाउँदै भविष्यमा सहकार्यको थप सम्भावनाहरूको खोजी गरिने जानकारी दिए।
भेटका क्रममा दुवै पक्षबीच लगानी प्रवर्द्धन, सूचनाको आदानप्रदान, क्षमता विकास र प्राविधिक सहकार्यका सम्भावनाहरूलाई अझ मजबुत बनाउने विषयमा समेत छलफल भएको थियो।
