प्रतिनिधिसभाको बैठक आगामी १९ साउन दिउँसो १ बजे सम्मका लागि स्थगित गरिएको छ। शुक्रबारको बैठक समापन गर्दै सभामुख देवराज घिमिरेले अर्को बैठकको मिति सार्वजनिक गरेका हुन्।
शुक्रबारको बैठकमा ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१’माथि छलफल भयो। छलफलपछि संसद्ले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृति दिएको छ। अब सांसदहरूले ७२ घण्टाभित्र सो विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्न सक्नेछन्।
उक्त विधेयक राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा आएको हो। प्रस्तावित विधेयकमा नेपाल आँखा कार्यक्रम र अन्धोपन निवारण समाजको सम्पत्ति तिलगंगा नेत्र विश्वविद्यालयमा हस्तान्तरण गर्ने लगायतका व्यवस्था समावेश गरिएको छ।
यो विधेयकले तिलगंगा नेत्र विश्वविद्यालयलाई विधिक आधार प्रदान गर्ने र देशको नेत्र उपचार तथा अनुसन्धान क्षेत्रमा थप सशक्त बनाउने अपेक्षा गरिएको छ।
