नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका आर्थिक मामिलामन्त्री कुन्दनराज काफ्ले गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको एक अधिवेशनमा सहभागी हुन लागेपछि दलभित्र नै आलोचना र असमझदारी चुलिएको छ।
काफ्ले एनआरएनए कोरियाको विवादित समूहद्वारा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन बिहीबार राति दक्षिण कोरिया जाँदै छन्। पार्टीको जनसम्पर्क विभागले नगर्न भनेको आग्रहलाई बेवास्ता गर्दै उनी उक्त कार्यक्रमका लागि प्रस्थान गर्न लागेका हुन्।
दक्षिण कोरियामा दुई फरक एनआरएनए समूह सक्रिय छन्—बिपिन कुमार गुरुङ नेतृत्वको कांग्रेस समर्थक समूह र बुद्धि गुरुङ नेतृत्वको एमाले निकट समूह। काफ्ले बुद्धि गुरुङ समूहद्वारा आयोजना गरिएको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुन लागेका हुन्।
यो कदमसँगै कांग्रेसभित्र असन्तुष्टि बढेको छ। कांग्रेस बागमती प्रदेशका महामन्त्री कञ्चनचन्द्र बादेले काफ्लेको भ्रमणबारे न त पार्टीसँग, न त प्रदेश सरकारसँग कुनै समन्वय भएको बताए। उनका अनुसार प्रदेश समितिलाई भ्रमणबारे जानकारी नआएको र यस्तो संवेदनशील विषय पार्टी केन्द्रको निर्णयअनुसार मात्रै अगाडि बढ्नुपर्ने धारणा पनि व्यक्त गरे।
काफ्लेले भने आफू सहभागी हुन लागेको कार्यक्रम कोरियास्थित नेपाली दूतावासले आधिकारिक रूपमा मान्यता दिएको निर्वाचित कार्यसमितिले आयोजना गरेको दाबी गरेका छन्। उनले एनआरएनएको आन्तरिक विवादबारे पछिल्लो समय मात्रै थाहा पाएको बताए।
यसैबीच विपिन कुमार गुरुङ नेतृत्वको एनआरएनए समूहले भने उक्त अधिवेशनलाई अवैध ठहर गर्दै आलोचना गरेको छ। उनीहरूका अनुसार परराष्ट्र मन्त्रालयले महेश श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई मान्यता दिएको हो र कोरियामा पनि उनीहरूकै मातहतमा कार्यक्रम हुनुपर्ने हो।
गत वैशाखमा सर्वोच्च अदालतको परमादेशबाट गठन गरिएको उच्चस्तरीय समितिले एनआरएनएको एकताको महाधिवेशन गर्नुअघि नै कोरियामा अधिवेशन भइसकेको थियो। त्यति बेला नेपाल सरकारको निर्णयअनुसार उक्त अधिवेशन तत्कालीन पर्यटन राज्यमन्त्रीद्वारा उद्घाटन गरिएको थियो।
हाल जुलाई २६ मा हुन लागेको अधिवेशनमा काफ्लेको प्रमुख आतिथ्यता विवादित बनेसँगै एनआरएनएको आन्तरिक विवाद झन जटिल बन्ने अनुमान गरिएको छ। पार्टी नेताहरूले पनि यस विषयमा केन्द्रीय तहबाट निर्णय आवश्यक रहेको धारणा राखेका छन्।
