नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले हवाई सेवा क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउन स्वदेशी जनशक्ति उत्पादन अनिवार्य भएको बताएका छन्।
अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बिहीबारको बैठकमा बोल्दै पाण्डेले जनशक्ति उत्पादन र तालीमको माध्यमबाट मात्रै हवाई सेवा सुधार सम्भव हुने धारणा राखे। उनले नेपालले आफ्नै जनशक्ति उत्पादनमा जोड दिनुपर्ने आवश्यकता औँल्याउँदै, विदेशी जनशक्तिमा निर्भर रहनु अबको आवश्यकता नभएको स्पष्ट पारे।
उनले भने, “हवाई सेवा प्रभावकारी बनाउन प्रशिक्षण आवश्यक छ, तर त्यो जनशक्ति आफ्नै देशमा उत्पादन होस् भन्ने कुरामा विधेयकले जोड दिनुपर्छ।”
त्यसैगरी, पाण्डेले हवाई सेवा प्राधिकरणको नेतृत्व सम्बन्धित मन्त्रीकै मातहतमा रहने व्यवस्था गरिँदा संस्था अझ प्रभावकारी हुने सुझाव पनि दिएका छन्।
उनको धारणा अनुसार दीर्घकालीन सुधारका लागि नीतिगत रूपमा स्वदेशी दक्ष जनशक्ति उत्पादनलाई प्राथमिकतामा राख्न जरुरी छ।
