बाजुराको हिमाली गाउँपालिकामा आज बिहान भएको जीप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।
ज्यान गुमाउनेमा हिमाली गाउँपालिका–५ क्युडीका ७६ वर्षीया विजा रोकाया र ७५ वर्षीया वाचा रोकाया रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देवबहादुर चौधरीले जानकारी दिए।
प्रहरीका अनुसार क्युडी गाउँबाट वडा नम्बर ५ स्थित वडा कार्यालयतर्फ यात्रु बोकेर आइरहेको बा प्र ०३–००१ ज ०३३८ नम्बरको जीप टुनीगडामा दुर्घटनामा परेको हो। सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि जाँदै गरेका यात्रु जीपमा क्षमताभन्दा बढी चढेका कारण कच्ची सडकमा अनियन्त्रित भई जीप पल्टिएको प्रारम्भिक अनुमान गरिएको छ।
दुर्घटनामा घाइते भएका १५ जनाको उद्धारका लागि गाउँपालिकाले स्वास्थ्यकर्मी र एम्बुलेन्ससहितको टोली घटनास्थलमा पठाएको प्रमुख प्रशासकीय अधिकृत कुलबहादुरले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
