प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रतिपक्षी दल नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले कुश्मामा प्रस्तावित रेल्वे स्टेशनको बारेमा सरकारको स्पष्ट योजना नदेखिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्न उठाए।
सिधा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा उनले भने, “कुश्मामा रेल स्टेशन बनाउने घोषणा गरिए पनि हाल सार्वजनिक बजेटमा त्यसको उल्लेख छैन। न त जग्गा अधिग्रहणको प्रक्रिया अगाडि बढाइएको छ। त्यहाँका बासिन्दा आशावादी थिए, तर अब निराश भएका छन्।”
प्रधानमन्त्री ओलीले भने चौधरीको भनाइ व्यंग्यको शैलीमा आएको प्रतिक्रिया दिए। उनले भने, “माननीयले कुश्मामा रेल्वे स्टेशन भन्नु सिधा व्यंग्य गर्न खोजिएको बुझिन्छ। हिजो बेलुका भनिएको कुराले बिहानसम्म रेल तयार नहुने हो—यस्तो कुरा स्वस्थानी कथाको महल जस्तो त होइन!”
उनले रेल निर्माण प्रक्रिया समय लाग्ने र योजनाबद्ध ढंगले अघि बढ्ने बताएका छन्। “नेपालमा रेल सम्भव छ भनेर जनकपुरमा रेल चलाइएको हो। त्यतिबेला पनि धेरैले गफ मात्रै भनेर नकारेका थिए,” प्रधानमन्त्रीले स्पष्ट गरे।
प्रधानमन्त्री ओलीले विकास निर्माण तत्कालको लागि मात्र नभई भावी पुस्तालाई लक्षित गरेर गरिनुपर्ने बताए। “हामीले केवल आजको छाक मात्र होइन, भोलिका सन्ततीहरूको सुविधा, समृद्धि र सुखद भविष्य हेर्नुपर्छ। विकास आजका लागि मात्र होइन, भोलिका लागि पनि हो,” उनले जोड दिए।
