नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा औपचारिक रुपमा नआउन आग्रह गर्नुको पछाडि लोकतान्त्रिक मूल्यको संरक्षण मुख्य कारण रहेको स्पष्ट पारेका छन्।
बुधबार एमाले प्रचार तथा प्रकाशन विभागद्वारा आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले भने, “विद्या भण्डारी पार्टी राजनीतिमा आउँदा एमाले थप बलियो हुनेथियो, तर त्यसले लोकतान्त्रिक मूल्य र मान्यता कमजोर पार्ने खतरा हुन्छ।”
उनका अनुसार, पूर्वराष्ट्रपति भण्डारीले पार्टी सदस्यता नलिएको अवस्थामा घरमै बस्नुपर्छ भन्ने अपेक्षा एमालेको छैन। “उहाँ राष्ट्रिय अभिभावक हुनुहुन्छ, समसामयिक विषयमा चासो र धारणा राख्नु अस्वाभाविक होइन,” पोखरेलले स्पष्ट पारे।
पत्रकारहरूले उठाएका प्रश्नहरूको उत्तर दिँदै पोखरेलले एमालेमा अध्यक्ष पदका लागि योग्य कुनै पनि महाधिवेशन प्रतिनिधिले उम्मेदवारी दिन पाउने अधिकार रहेको बताए।
तर, पार्टीको केन्द्रीय कमिटीले २०८४ को निर्वाचन अभियानको नेतृत्व केपी ओलीकै रहनुपर्छ भन्ने निर्णय गरेको पनि उनले प्रष्ट पारे। “हामीले कसैलाई रोकेका छैनौं, तर कमिटीको सर्वसम्मत धारणा ओली नेतृत्वमै मिसन ०८४ अघि बढाउने हो,” पोखरेलले भने।
