प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रतिपक्षी दल नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले कुश्मामा रेल्वे स्टेशन बनाउने विषयमा उठाएका प्रश्नले संसदमा हलचल ल्यायो।
प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा चौधरीले प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै सोधे, “कुश्मामा रेल्वे स्टेशन बनाउने घोषणा गर्नुभयो तर आगामी वर्षको बजेटमा यसको कुनै उल्लेख छैन। न जग्गा अधिग्रहणको कुरा आयो, न नै निर्माण प्रक्रिया सुरु भएको देखियो। जनताहरू आशावादी थिए, तर अब निराश बनेका छन्।”
प्रधानमन्त्री ओलीले यसको जवाफमा प्रष्ट पारे कि सांसदको प्रश्न व्यंग्यात्मक स्वरमा आएको हो भन्ने आफूले बुझेको बताए। उनले भने, “हिजो बेलुका घोषणा गरेको रेल आज बिहानै तयार हुने कुरा त स्वस्थानी व्रतकथामा शिवजीले पार्वतीलाई देखाएको महलजस्तो भयो।”
प्रधानमन्त्री ओलीले विकास निर्माणको प्रक्रिया एकैछिनमा सम्पन्न नहुने बताए। उनले नेपालको सन्दर्भ दिँदै भने, “नेपालमा रेल सम्भव छ भनेर जनकपुरमा पट्री बिच्याएर, रेल ल्याएर चलाइएको छ। पहिले त ‘चल्दैन, गफ मात्रै हो’ भन्नेहरू थिए।”
त्यस्तै उनले जनप्रतिनिधिलाई सम्झाउँदै भने, “हामी आजको छाक मात्रै होइन, भोलिका पुस्ताको भविष्य पनि सोच्नुपर्छ। विकास भनेको अहिलेको लागि मात्र होइन, आउने पुस्ताको समृद्धि र सुविधा सुनिश्चित गर्ने दीर्घकालीन प्रक्रिया हो।”
