नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संसदीय समितिबाट सर्वसम्मत पारित कुलिङ पिरियडको विषयमा कांग्रेस कुनै हालतमा पछि नहट्ने स्पष्ट पारेका छन् ।
४३औँ बीपी स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले कुलिङ पिरियडबारे काँग्रेसले अडान नछाड्ने बताए । राष्ट्रिय सभामा नेकपा एमालेका सांसदहरूले उक्त प्रावधान हटाउने प्रस्ताव दर्ता गराएपछि महतले यस विषयमा सम्झौता हुन नसक्ने जिकिर गरे ।
उनले भूमि विधेयकलगायतका महत्त्वपूर्ण विषयमा कुनै पनि पार्टीले एकलौटी ढंगले अघि बढ्न नहुनेमा जोड दिँदै गठबन्धन सरकार सन्तुलित ढंगले अघि बढ्नुपर्ने धारणा राखे ।
त्यसैगरी, समाजमा असत्यलाई नै सत्यजस्तो बनाउने प्रवृत्तिप्रति गहिरो चिन्ता व्यक्त गर्दै डा. महतले सत्यको पक्षमा दृढ रहनुपर्ने बताए ।

