नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कुलिङ पिरियड, भूमि विधेयक र संवैधानिक परिषद्सम्बन्धी विधेयकमा नेकपा एमालेले देखाएको व्यवहारप्रति गम्भीर प्रश्न उठाएका छन् ।
४३ औं बीपी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले संसद र राष्ट्रिय सभामा पारित विधेयकका व्यवस्थाहरूले कांग्रेसका मूल्यमान्यता र संविधानकै मर्ममाथि प्रहार गरेको टिप्पणी गरे ।
राष्ट्रिय सभाबाट पारित भई राष्ट्रपतिकहाँ पुगेको संवैधानिक परिषद् विधेयकप्रति असन्तुष्टि व्यक्त गर्दै कोइरालाले सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीसँग स्पष्ट अडान लिन आग्रह गरे । उनले भने, “टेक एन्ड पे जस्तो विषयमा जस्तै, कुलिङ पिरियडको मामिलामा पनि कांग्रेसको दृढ अडान देखिनु जरुरी छ ।”
राज्य व्यवस्था समितिबाट पारित संस्करणभन्दा फरक विधेयक प्रतिनिधि सभाबाट पास हुँदा गल्ती कांग्रेसकै सांसदहरूले पनि गरेको उनले स्वीकार गरे ।
एमालेका सांसदहरूले राष्ट्रिय सभामा कुलिङ पिरियड हटाउने संशोधन ल्याउनु कांग्रेसका कोर मूल्यमा प्रहार भएको उनको टिप्पणी थियो ।
कोइरालाले भूमि विधेयक संसदबाट हतारमा पारित गर्न खोजिएको भन्दै विरोध जनाए । “के कारणले समितिमा छलफल नगरी हतार–हतार पारित गर्न खोजिएको हो? यसको जवाफ कांग्रेसलाई चाहिन्छ,” उनले प्रश्न गरे ।
संवैधानिक परिषद् विधेयकले राष्ट्रपतिबाट अनुमोदन भएमा संविधानको मर्म नै समाप्त हुने उल्लेख गर्दै उनले भने, “प्रधानमन्त्री र एक सदस्यको मात्रै उपस्थितिमा संवैधानिक परिषद् चल्न सक्ने व्यवस्था खतरनाक छ ।”
