राष्ट्रिय सभाले संघीय निजामती सेवा विधेयकमा दफावार छलफल सुरु गर्ने तयारी गरेको छ । दिउँसो १:१५ बजे बस्ने बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विधेयकलाई विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।
प्रतिनिधि सभाबाट पारित भएर आएको यस विधेयकमा १६ समूहका ४३ जना सांसदहरूले विभिन्न संशोधन दर्ता गराएका छन् ।
नेकपा एमालेका पाँच सांसद — गोपाल भट्टराई, इन्दिरा देवी गौतम, रुक्मिणी कोइराला, सुमित्रा बि.सी र सोनाम गेल्जेन शेर्पाले सेवानिवृत्त कर्मचारीलाई पदबाट अलग भइसकेपछि लागू हुने भनिएको ‘कुलिङ पिरियड’ को व्यवस्था नै हटाउनुपर्ने संशोधन प्रस्ताव राखेका छन् ।
हालको विधेयकमा अवकाशपछि दुई वर्षसम्म संवैधानिक, कुटनीतिक वा अन्य पदमा नियुक्त नहुने व्यवस्था गरिएको छ । तर, सो व्यवस्था निष्क्रिय बनाउने प्रावधानसमेत समावेश गरिएको भन्दै प्रतिनिधि सभामा विशेष छानबिन समिति बनेको थियो ।
यसैबीच, नेकपा माओवादी केन्द्रका सांसदहरूले कुलिङ पिरियड तीन वर्ष कायम गर्नुपर्ने प्रस्ताव राखेका छन् भने नेपाली कांग्रेसका सांसदहरूले दुई वर्ष नै उपयुक्त भन्दै संशोधन दिएका छन् ।
अब प्रस्तुत सबै संशोधन प्रस्तावहरू राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा छलफलका लागि पठाइनेछ ।

