नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक दोस्रो दिन मंगलबार पनि निरन्तर चलिरहेको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबार सुरु भएको बैठक आज बिहान ११ बजेदेखि पुनः बसेको हो ।
पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार सोमबारको बैठकमा गण्डकी, मधेस, सम्पर्क समन्वय कमिटी र उपत्यका विशेष प्रदेश कमिटीबाट प्रतिनिधित्व गर्ने ४९ जना केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखेका थिए ।
आजको बैठकमा बाँकी केन्द्रीय सदस्यहरूले समेत आफ्ना विचार राख्ने कार्यक्रम तय भएको छ ।
पार्टी सचिवालय र पोलिटब्युरो बैठकबाट पारित भएर केन्द्रीय कमिटीमा आएको उपाध्यक्ष विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा समेत छलफल जारी रहनेछ ।
धारणा राख्न हरेक केन्द्रीय सदस्यलाई अधिकतम तीन मिनेटको समय दिइएको छ । सचिवालय र पोलिटब्युरोका सदस्यहरू भने यसअघि नै आफ्ना धारणा राखिसकेकाले उनीहरूलाई यस बैठकमा समय नदिइएको गौतमले जानकारी दिएका छन् ।
