सुनसरीको बराहक्षेत्र नगरपालिका–१ पटनालीबाट करिब १ किलोमिटर उत्तर खाली चौरमा शनिबार बिहानैदेखि भीड लागेको थियो । बस, मोटरसाइकल र निजी गाडीमा आएका सयौं मानिसहरूको उद्देश्य एउटै — कोकाहा नदीबाट ल्याइएको खानेपानी पाइपलाई डढेलोबाट जोगाउन जमिनमुनी गाड्ने ।
धरानका मेयर हर्क साम्पाङ आफैं हाते माइक समातेर “पानी बोकौं है साथीहरू” भन्दै श्रमदातासँग अगाडि बढिरहेका थिए । हातमा औजार बोकेका श्रमदातालाई ‘हामी देशका लागि श्रमदान गर्न आएका हौं, कसैको खेताला होइनौं’ भन्दै उत्साहित बनाउँदै उनले टोली अगाडि बढाए ।
यो शनिबार मात्रै नभएर, श्रमदाताको यस्तो लर्को दोस्रो साताको निरन्तरता थियो । कोकाहा नदीको पानी सुरक्षित गर्न चार हप्ता यता श्रमदान अभियान चलिरहेको छ ।
धरान उपमहानगरपालिकाको बजेट अझै ल्याउन नसकेको अवस्थामा, मेयर साम्पाङ भने श्रमदानमा मात्रै केन्द्रित छन् । शनिबारको श्रमदानमा करिब ५०० जना सहभागी थिए । खाना र खाजा व्यवस्थापनका लागि स्वयंसेवकहरू खटिएका थिए ।
साम्पाङका अनुसार कोकाहा नदीबाट धरानसम्म ४५ किलोमिटर लामो पाइपलाइन श्रमदानकै भरमा बिछ्याइएको हो । अहिले त्यो पाइपलाई जमिनमुनि गाड्ने काममा स्थानीयको सक्रियता देखिएको छ ।
पूर्व भारतीय सेनाका बुद्धि प्रधानजस्ता श्रमदाताले वर्षौंदेखि साम्पाङको अभियानमा निरन्तरता दिँदै आएका छन् । “युवा अवस्था विदेशमा बिताइयो, अब बाँकी जीवन देशका लागि समर्पित गरेको छु,” प्रधान भन्छन् ।
शनिबारलाई साम्पाङले ‘श्रमबार’ भन्ने गरेका छन् । यस अभियानमा सहभागी धेरैले शनिबारलाई ‘श्रमबार’ मान्न थालेका छन् ।
श्रमदानका कारण साम्पाङ विवादमा त परे तर उनको अभियानको आकर्षण भने झनै बढ्दो छ । राजनीतिक विश्लेषक राजेन्द्र शर्माका अनुसार, साम्पाङले धरानमा श्रम संस्कृतिको नयाँ इतिहास रचिरहेका छन् ।
उनका अनुसार, बाह्य स्रोतको सहायतामा साम्पाङले श्रमदान अभियान चलाएका छन्, जसले पर्यटकीय आकर्षण समेत बढाएको छ । तर, खर्च पारदर्शिताको सवालमा आलोचना पनि छ ।
श्रमदानसँगै धरानमा ‘श्रम संस्कृतिको शहर’ को पहिचान बन्न थालेको छ । केहीले पिकनिकको रुपमा लिने गरे पनि साम्पाङको पहलले सामूहिक श्रममा स्थानीय सहभागिता उल्लेख्य देखिएको छ ।
