धनुषाको मिथिला नगरपालिका–८ जमुनिबासस्थित जनता राष्ट्रिय आधारभूत विद्यालयमा कार्यरत एक शिक्षिका विद्यालयकै कक्षा कोठाभित्र झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् ।
मृतक ३४ वर्षीया विमला कुमारी ध्रोङचिङ मगर सोही विद्यालयमा बाल विकास कक्षामा शिक्षिका थिइन् । साउन १ गते बिहान करिब ४:४५ बजे उनी विद्यालयको कक्षा कोठाभित्र मृत भेटिएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार घटनाबारे अनुसन्धान सुरु गरिएको छ । प्रारम्भिक अनुसन्धानमा मगरले जनकपुरधाम उपमहानगरपालिका–९ का ५५ वर्षीय राजकिशोर यादवसँग मिटरब्याजमा ऋण लिएको खुल्न आएको छ ।
शिक्षिका मगरको स्कुटरको डिक्कीमा प्रहरीले सुसाइड नोट फेला पारेको छ । अनुसन्धानका क्रममा यादवलाई साउन २ गते नै पक्राउ गरी आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरी उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए ।
अनुसन्धान अनुसार मगरले यादवसँग ३ लाख २० हजार रुपैयाँ ऋण लिएकी थिइन् । ऋण चुक्ता गरिसकेपछि पनि यादवले खाली चेकमा ४५ लाख रुपैयाँ उल्लेख गरी बार्गेनिङ गरेको खुलेको छ ।
यादवले पटक–पटक मानसिक तनाव, धम्की र सार्वजनिक बेइज्जती गर्ने चेतावनी दिँदै आएका थिए । प्रहरीका अनुसार यादवको घरबाट विभिन्न व्यक्तिहरूका नाममा रहेका तमसुकका सक्कल र प्रतिलिपिहरू, २३ थान सक्कलै जग्गाधनी प्रमाणपत्र, बैंक भौचर तथा चेकसमेत बरामद गरिएको छ ।
शिक्षिका मगरका परिवारजनका अनुसार असार ३२ गते यादव आफैं घर पुगेर ऋण तिर्न दबाब दिएका थिए र तिर्न नसके चेक बाउन्स गरी जेल पठाउने धम्की दिएका थिए । मगरले ऋण लिएको कुरा परिवारका सीमित सदस्यले मात्रै थाहा पाएको उनीहरूको भनाइ छ ।
हाल घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
