नेपालमा पहिलो पटक कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी आचारसंहिता सार्वजनिक गरिएको छ । अनलाइन टिभी पत्रकार संघले ‘अनलाइन टिभी एआई आचारसंहिता २०८२’ जारी गर्दै एआईको सही र जिम्मेवार प्रयोगका लागि मार्गनिर्देशन गरेको हो ।
काठमाडौँमा आयोजित विशेष समारोहमा संघका अध्यक्ष जीवन भण्डारीले १२ बुँदे आचारसंहिता सार्वजनिक गर्दै एआईको बढ्दो प्रयोगसँगै हुन सक्ने दुरुपयोग न्यून गर्न यस कदमलाई आवश्यक रहेको बताए । उनले अनलाइन टिभी क्षेत्रमा एआईको प्रयोग तीव्र गतिमा फैलिन सक्ने देखिएकाले यसै अवसरमा पत्रकारहरूलाई सचेत गराउन आचारसंहिता ल्याइएको स्पष्ट पारे ।
सूचना प्रविधिमा सक्रिय क्यान महासंघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले यो आचारसंहिता नेपालमै पहिलो भएको उल्लेख गर्दै अन्य क्षेत्रमा पनि यस्ता अभ्यास अनिवार्य भइसकेको धारणा राखे ।
जारी गरिएको आचारसंहिता प्रस्तावित राष्ट्रिय एआई नीति–२०८१ का उद्देश्यलाई ध्यानमा राखेर बनाइएको हो । आचारसंहिताअनुसार एआईले तयार पारेका सामग्री अन्तिम निर्णय, परीक्षण र सम्पादन मानव सम्पादकबाटै भई मात्र सार्वजनिक गरिनेछ ।
त्यस्तै, एआईबाट उत्पादित सामग्रीप्रति जवाफदेहिता सम्बन्धित व्यक्ति, सम्पादक र संस्थाले लिनुपर्ने र एआई प्रयोग भएको स्पष्ट खुलाइएको हुनुपर्ने व्यवस्था गरिएको छ ।
व्यक्तिगत गोपनीयता, चरित्र हनन, अश्लीलता, संवेदनशील जानकारी र सुरक्षा जोखिमका विषयमा कानुनी दायराभित्र रही विशेष सतर्कता अपनाइने र पक्षपातपूर्ण, भ्रम सिर्जना गर्ने वा झुटा सामग्री प्रवाहका लागि एआईको प्रयोग नगर्ने प्रतिवद्धता समेत संघले जनाएको छ ।
संघका वरिष्ठ उपाध्यक्ष सञ्जीव रेग्मीका अनुसार संघमा आबद्ध सबै अनलाइन टिभी पत्रकारले आचारसंहिता पालना गर्नुपर्नेछ भने यसको निगरानी संघले गर्नेछ ।
सञ्चारकर्मीहरूको साझा संस्था अनलाइन टिभी पत्रकार संघले यसअघि २०७७ सालमा अनलाइन टिभी स्वनियमन निर्देशिका समेत ल्याइसकेको छ ।
