प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र दृढ एकता कायम रहन सके आगामी २०८४ सालको निर्वाचनमा एमालेलाई बहुमत प्राप्त हुनबाट कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।
सोमबार च्यासलस्थित पार्टी कार्यालयमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो धारणा व्यक्त गरेका हुन् ।
बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार ओलीले भने, ‘यदि पार्टी एक ढिक्का भएर अघि बढ्यो भने आगामी निर्वाचनमा हामीलाई कसैले रोक्न सक्दैन ।’ उनले विगतमा आफू र पार्टीविरुद्ध विभिन्न दाबी–आरोपहरू भए पनि एमाले अझै सत्तामा रहेको र सरकारको नेतृत्व गरिरहेको स्मरण गराए ।
ओलीले पार्टीभित्र सहमति, एकता र साझा लक्ष्यसहित अघि बढ्नुपर्नेमा जोड दिँदै निर्वाचन तयारीलाई थप तीव्रता दिन सबैलाई आह्वान गरेका छन् ।
