उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच काठमाडौंमा भेटवार्ता भएको छ ।
अर्थ मन्त्रालयमा भएको संवादमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, विकास साझेदारी, र हाल सञ्चालित तथा आगामी परियोजनाहरूका विषयमा छलफल भएको हो ।
भेटवार्तापछि दुई देशबीच चारवटा परियोजनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार चितवनको भरतपुरस्थित वि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो ट्रान्सप्लान्ट सेन्टर निर्माण र निजामती कर्मचारी अस्पताल विस्तारको सम्भाव्यता अध्ययन गरिनेछ । यी दुई सम्झौतामा नेपालको तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र चीनका तर्फबाट सिड्का अध्यक्षले हस्ताक्षर गरेका छन् ।
भरतपुरस्थित क्यान्सर अस्पतालमा १,८३४ वर्ग मिटर क्षेत्रफलमा आधुनिक बोनम्यारो उपचार केन्द्र निर्माण भई अत्यावश्यक उपकरणहरू जडान गरिनेछ । यसले बोनम्यारो क्यान्सर उपचारमा उल्लेख्य टेवा पुग्ने अपेक्षा गरिएको छ ।
यस्तै, सरकारी कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि १,२७० जना कर्मचारीलाई चीनका विभिन्न संस्थाहरूले आयोजना गर्ने तालिम र सेमिनारमा सहभागी गराउने सहमति भएको छ ।
त्यस्तै, रसुवागढी–केरुङ्ग सिमापार प्रसारण लाइनको सम्भाव्यता अध्ययनसम्बन्धी माइन्युटमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र सिड्का अध्यक्ष सियाओदोङ्गले हस्ताक्षर गरेका छन् ।
भेटमा अर्थमन्त्री पौडेलले नेपाल–चीन बहुआयामिक सम्बन्ध र आपसी सहयोगको सराहना गर्दै रसुवा जिल्लामा बाढीबाट क्षतिग्रस्त भौतिक संरचनाहरूको पुनर्निर्माणमा चिनियाँ सहयोगका लागि आभार व्यक्त गरे ।
सिड्का अध्यक्ष सियाओदोङ्गले नेपालले बाढीपछिको उद्धार र खोजीमा देखाएको सक्रियताको प्रशंसा गर्दै भौतिक संरचनाहरूको पुनर्निर्माणमा आवश्यक सहयोग गर्ने र भन्सार प्रक्रियालाई छरितो बनाउन आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
