कहिलेकाहीँ मानिसहरूले मनमा लागेको गम्भीर कुरा ठट्टाको माध्यमबाट सार्वजनिक गर्छन् । यस्तो गर्दा भन्ने र सुन्ने दुवैलाई सहज हुन्छ । तर, त्यस्ता ठट्टाभित्र कहिलेकाहीँ यस्ता गम्भीर सन्देश लुकेका हुन्छन्, जसले पछि गएर अर्थपूर्ण असर पार्छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली यस्ता ठट्टा गर्न र ठट्टामै गम्भीर कुरा भन्नमा माहिर मानिन्छन् । उनीजस्तै कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि ‘जोक’ पढ्न मनपर्ने मानिन्छ । तर, ओली समकालीन राजनीतिज्ञहरूमध्ये अध्ययनशील र सूचना खपतमा अग्रणी नेताका रूपमा चिनिन्छन् ।
आफ्नै दलभित्र आन्तरिक लोकतन्त्र र बहुपदीय नेतृत्व व्यवस्थाका लागि ओलीले लामो समय संघर्ष गरेका थिए । पार्टीमा अध्यक्षको दुई कार्यकाल र ७० वर्षे उमेर हदजस्ता प्रावधानहरू पनि उनीकै पहलमा संस्थागत भएका थिए । तर, यिनै प्रावधानहरू जब आफैँलाई चुनौती बन्न थाले, त्यसबेला ओलीले गम्भीर बहसभन्दा ठट्टालाई सहारा लिए ।
गत शुक्रबार र शनिबार च्यासलमा बसेको एमाले पोलिटब्युरो बैठकमा ओलीले ७० वर्षे उमेर सीमा र दुई कार्यकालको व्यवस्था हटाउने निर्णय ‘ठट्यौली शैली’मा प्रस्तुत गरे । उनले भने, “७० वर्षे उमेर हद कायम गर्ने हो भने मेरो जेल बसेको १४ वर्ष घटाउनुपर्छ । त्यसपछि म पनि ६० वर्षकै देखिन्छु !”
ओलीको यो भनाइपछि हलमा ठट्टा र हाँसोले माहोल बन्यो र गम्भीर बहस नै उठेन । अन्ततः उमेर हद र कार्यकाल सीमा हटाउने प्रस्ताव एकमतले पारित भयो ।
तर, यसले एउटा चासो पनि जन्माएको छ — ओलीको उदाहरणमा अन्य नेताहरूले पनि उस्तै तर्क गर्न थाल्ने त होइन ? राष्ट्रपतिबाट रामचन्द्र पौडेल, कांग्रेसबाट शेरबहादुर देउवा जस्ता नेताहरूले जेल बसेको समय कटौती गर्दै उमेर घटाउने तर्क गरे भने ?
राजनीतिक परिपाटीका लागि यो सन्देश कति सकारात्मक होला भन्ने प्रश्न उब्जिएको छ । सत्तामा टिकिरहने लालसाभन्दा समयमै नेतृत्व हस्तान्तरण गर्नु नेताको विशेषता हो भन्ने कुरा विश्व राजनीतिमा नेल्सन मण्डेलाले देखाइसकेका छन् ।
२९ वर्ष जेल बसेका मण्डेलाले पहिलो कार्यकालपछि नै दक्षिण अफ्रिकाको राष्ट्रपतिको पद छाडे । उनले भनेका थिए, “अर्को पुस्तालाई जिम्मेवारी सुम्पने सही समय कहिले हो भन्ने जान्नु हाम्रो आन्दोलनको महान् परम्परा हो ।”
यसैले, राजनीति केवल ठट्टा होइन, त्यसभित्र लुकेको सन्देश गम्भीर छ — राजनेता र राजनीतिज्ञबीचको भेद यहीँ स्पष्ट हुन्छ ।
