साउन महिनाको पहिलो सोमबारको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशुपतिनाथ क्षेत्रको अवलोकन गरेका छन् । धार्मिक आस्थाका दृष्टिले विशेष महत्व राख्ने साउन महिनामा विशेषगरी सोमबार शिवभक्तहरूको ठूलो भीड लाग्ने भएकाले मन्त्री पाण्डेले व्यवस्थापनको स्थलगत अवलोकन गरेका हुन् ।
अनुगमनका क्रममा मन्त्री पाण्डेले पशुपतिनाथ क्षेत्र विकास कोष, नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी र सम्बन्धित निकायहरूले भक्तजनका लागि गरेका व्यवस्था निरीक्षण गर्नुका साथै दर्शनार्थीसँग समेत प्रत्यक्ष कुराकानी गरेका थिए । दर्शनका लागि सहज वातावरण बनाइएकामा उनले सन्तुष्टि व्यक्त गरे ।
दर्शनार्थी सरु खरेलले यस वर्ष व्यवस्थापन पहिलेभन्दा व्यवस्थित देखिएको प्रतिक्रिया दिँदै सटल बस सेवा, लाइन व्यवस्थापन र सुरक्षाका कारण ज्येष्ठ नागरिक तथा अशक्तहरूलाई समेत सहज भएको बताइन् ।
साउनको पहिलो सोमबार दिउँसो २ बजेसम्म करिब एक लाखभन्दा बढी भक्तजनले पशुपतिनाथको दर्शन गरिसकेको जनाइएको छ । भक्तजनहरूको आवागमन सहज बनाउन गौशाला र तिलगंगासम्म सटल बस सेवा सञ्चालन गरिएको छ, जसले पैदल यात्रुहरूलाई राहत पुर्याएको छ ।
मन्त्री पाण्डेले शान्तिपूर्ण र अनुशासित रूपमा दर्शन गरिरहेका भक्तजनहरूप्रति आभार प्रकट गर्दै आगामी दिनहरूमा व्यवस्थापन झन् प्रभावकारी बनाउन सम्बन्धित निकायलाई सक्रिय रहन निर्देशन दिएका छन् ।
साउन महिनाभरि सोमबार पशुपतिनाथमा भक्तजनको भीड हुने भएकाले सुरक्षा तथा व्यवस्थापन पक्षमा थप तयारी गरिने मन्त्रालयले जनाएको छ ।
यसै अवसरमा मन्त्री पाण्डेले सौर्य एयरलाइन्स दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा आयोजित पितृमुक्ति ज्ञान महायज्ञमा पनि सहभागिता जनाएका थिए ।

