नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भएको भेटवार्ताका विषयमा पार्टी केन्द्रीय समितिमा जानकारी गराएका छन् ।
पार्टी केन्द्रीय कार्यालय, च्यासलमा जारी केन्द्रीय कमिटी बैठकमा ओलीले भण्डारीसँग भएको छलफलबारे ब्रिफिङ गर्दै राष्ट्रपतिजस्तो उच्च जिम्मेवारी सम्हालेकी व्यक्तित्व राजनीतिमा फर्कँदा त्यसको सन्देश कस्तो जान सक्छ भन्नेबारे आफूले भण्डारीलाई स्मरण गराएको बताए ।
बैठकमा ओलीले भने, “देशको अभिभावकजस्तो भूमिकामा रहनुपर्ने व्यक्तिले सक्रिय राजनीतिमा आउँदा राम्रो सन्देश नजान सक्छ, सम्मानित भएर बस्नु नै उपयुक्त हुन्छ भन्ने कुरामा म रहँदै आएको छु ।”
ओलीका अनुसार, भण्डारीले आफ्ना भनाइहरूलाई विचार गर्ने प्रतिक्रिया दिएकी छन् । “उहाँले ‘विचार गर्छु’ भन्नुभएको छ, हामी अब उहाँको जवाफ कुर्दैछौँ,” ओलीको भनाइ रहेको केन्द्रीय सदस्यहरूले जानकारी दिएका छन् ।
यता, पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकपछि जानकारी दिँदै अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच कुनै मतभेद नरहेको बताएका छन् ।
गौतमले भने, “दश वर्षपछि पार्टी कार्यालय आउनुभएको थियो । भेटका क्रममा खुला रूपमा छलफल भयो, नेकपा एमाले विभाजन गर्ने प्रयासदेखि सरकारले गरेका कामसम्मका विषयमा कुराकानी भयो ।”
त्यस्तै, विधान महाधिवेशनको तयारी, राजनीतिक, सांगठनिक र वैचारिक विषयमा गम्भीर छलफल गर्न अध्यक्ष ओलीले निर्देशन दिएको पनि गौतमले बताए । ओलीका अनुसार, भण्डारीको पार्टी सदस्यताको विषयमा आवश्यक निर्णय केन्द्रीय कमिटीले गर्नेछ ।
