भारतको महाराष्ट्रस्थित रत्नागिरी जिल्लाको राजापुर क्षेत्रमा श्रमिकका रूपमा कार्यरत नेपाली युवा राजु चौधरीको रहस्यमय निधन भएको छ । कैलालीको गौरिगंगा नगरपालिका–४, राजीपुर खल्ला शिविरका २३/२४ वर्षीय चौधरी पछिल्लो दुई वर्षदेखि त्यहाँ श्रमिकका रूपमा काम गर्दै आएका थिए ।
चौधरीको असमय र शंकास्पद निधनको खबरले प्रवासी नेपाली समुदाय स्तब्ध बनेको छ । परिवारको भविष्यका लागि विदेशमा पसिना बगाइरहेका चौधरीको मृत्युले परिवार, समाज र प्रवासी नेपालीहरूमाझ शोकको छायाँ छाएको छ ।
उनको पार्थिव शरीर नेपाल फर्काउने पहल प्रवासी नेपाली सम्पर्क मञ्च–भारतका केन्द्रीय उपप्रमुख दिपक राज आचार्यको विशेष समन्वयमा भइरहेको जनाइएको छ । शव नेपाल पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
यस मानवीय कार्यमा प्रवासी नेपाली सम्पर्क मञ्च भारत–महाराष्ट्र राज्यका सह-कोषाध्यक्ष अर्जुन विक, क्युआरटी सदस्य, रत्नागिरी नगर समितिका पदाधिकारी तथा केन्द्रीय सदस्य छविराज बास्तोलाको सक्रिय सहभागिता रहेको छ ।
यो घटनाले विदेशमा श्रमिक जीवन बिताइरहेका हजारौँ नेपालीहरू जोखिममा रहेको यथार्थ पुनः उजागर गरेको छ । प्रवासी नेपालीको सुरक्षा, अधिकार र सम्मान सुनिश्चित गर्न सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराइएको छ ।

