कास्की — अविरल वर्षा र सम्भावित जोखिमलाई मध्यनजर गर्दै सिद्धार्थ राजमार्ग हुँदै स्याङ्जातर्फ जाने सवारी साधनका लागि समय तालिका तोकिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबार सूचना जारी गर्दै नयाँ नियमावली सार्वजनिक गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालका अनुसार साउन ४ गते बसेको जिल्ला सुरक्षा समितिको निर्णयअनुसार अत्यावश्यक सेवाबाहेकका सवारी साधन साँझपख सञ्चालन गर्न रोक लगाइएको हो ।
यसअनुसार कास्कीको छोरेपाटनबाट स्याङ्जातर्फ जाने लामो दूरीका सवारीहरूलाई साँझ ४ बजेपछि र छोटो दूरीका सवारीहरूलाई साँझ ५ बजेपछि सञ्चालनमा रोक लगाइएको प्रशासनले जनाएको छ ।
मनसुन सक्रिय भई गण्डकी प्रदेशमा थप भारी वर्षा हुने पूर्वानुमान रहेकाले सम्भावित मानवीय तथा भौतिक क्षति घटाउन यो निर्णय लिइएको प्रशासनको भनाइ छ ।
स्याङ्जा जिल्लासँगको सहकार्यमा लागू गरिएको यस नियमअन्तर्गत अत्यावश्यक सेवाबाहेक अन्य गाडी नचलाउन र चलाउनै परेमा नजिकको सुरक्षा निकायसँग समन्वय गर्न सूचित गरिएको छ ।
हालैका दिनहरूमा निरन्तरको वर्षाले सिद्धार्थ राजमार्गका विभिन्न भागमा पहिरो जाँदा सडक अबरुद्ध हुँदै आएको छ, जसले गर्दा यात्रुहरूको सुरक्षामा जोखिम देखिएको प्रशासनले स्पष्ट पारेको छ ।
