प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आइतबार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा भेटवार्ता भएको छ।
सुरक्षा बाहेकका सबै सेवा–सुविधा त्याग गरिसकेकी भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किने चाहनासहित अध्यक्ष ओलीलाई भेट्न च्यासल पुगेकी हुन्।
पूर्वराष्ट्रपतिले एमालेको सदस्यता नवीकरणका लागि आग्रह गरे पनि हालसम्म त्यो प्रक्रिया पेन्डिङमै रहेको छ। एमाले नेतृत्व पूर्वराष्ट्रपति पार्टी राजनीतिमा फर्कन मिल्छ वा मिल्दैन भन्ने विषयमा छलफल गरेर निष्कर्षमा पुग्न चाहन्छ।
प्रधानमन्त्री ओलीले पूर्वराष्ट्रपतिलाई पुनः पार्टी राजनीतिमा ल्याउनु उचित नहुने धारणा राख्दै आएका छन् भने केही एमाले नेताहरूले भने भण्डारीलाई पार्टीमा फर्काउनुपर्ने मत सार्वजनिक गर्दै आएका छन्।
भण्डारी र ओलीबीच भएको पछिल्लो भेटलाई पार्टीभित्रको अन्तरिक छलफलका रूपमा हेरिएको छ।
