नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश अहिले संविधान, गणतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्धिका सवालमा जटिल मोडमा रहेको टिप्पणी गरेका छन् । बिहीबार ललितपुरमा वाईसीएलले थालेको श्रम उत्पादन अभियानको उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।
उनले वर्तमान सरकार जहाँ पुग्छ, त्यहीँ भ्रष्टाचार हुने गरेको आरोप लगाए । सुशासन विरोधी चरित्र देखाएको भन्दै सरकार मुलुक असफलतातर्फ उन्मुख भइरहेको उनले टिप्पणी गरे ।
प्रचण्डले सामाजिक न्याय, सुशासन र आर्थिक समृद्धिका पक्षमा जनतासँगको सम्बन्ध बलियो बनाउँदै श्रम र उत्पादनसँग जोडिनुपर्नेमा जोड दिए ।
सरकार जनभावना विपरीत गए भ्रष्टाचारविरुद्ध सडकबाटै प्रतिवाद गर्ने चेतावनी पनि उनले दिए । साथै, युवालाई संगठित गरेर मात्रै परिवर्तनविरोधी प्रवृत्तिमाथि विजय हासिल गर्न सकिने धारणा प्रचण्डले राखे ।
