नेपाली कांग्रेसका सांसद विनोद चौधरीले देशको पुँजी बजारलाई सक्रिय तुल्याउन मौद्रिक नीतिमा आवश्यक समायोजन गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उनले हालको कडाइपूर्ण नीतिका कारण सर्वसाधारण समस्यामा परेका बताएका हुन्।
उनका अनुसार हालको मौद्रिक नीति विशेषगरी पुँजी बजारमा जकडिएको अवस्था ल्याउने खालको छ। “क्यापिटल मार्केटलाई फेरि गति दिनुपर्ने बेला आएको छ,” चौधरीले भने, “यस क्षेत्रमा अत्यधिक कडाइले नकारात्मक प्रभाव पारेको छ।”
सांसद चौधरीले रेमिट्यान्सबाट भित्रिएको रकम अहिले बजारमा नआएको उल्लेख गर्दै त्यसलाई आकर्षित गर्न पनि नीति पुनरावलोकन आवश्यक रहेको धारणा राखे। साथै, पुँजी बजारमा संरचनात्मक सुधार गर्नु पर्नेमा जोड दिँदै उनले मौद्रिक नीतिले साना व्यवसाय र स्टार्टअप उद्यमहरूलाई प्रोत्साहन गर्न सक्ने खालका कर्जा योजनालाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याए।
उनले बैंकको कर्जा सीमित व्यवसायीले मात्र उपयोग गरिरहेका छन् भन्ने आरोप गलत भएको दाबी गर्दै समावेशी वित्तीय पहुँच सुनिश्चित गर्न आग्रह गरे।
