मुगुको सोरु गाउँपालिका–८ स्थित दुर्गम बस्ती तारापानीकी चन्दा योगीलाई आज पनि आकाशमा कालो बादल देखिएपछि मुटु काँप्छ। तीन वर्षअघि आएको बाढीले उनको पाँच कट्ठा जग्गासहित घर पनि बगायो। अहिले पनि मनसुन सुरु भइसकेको छ, तर जोखिम भने उस्तै छ। बाढीको त्रासमा रात बिताउँदा बालबालिकाले “आमा, घर छाडौँ” भन्दा चन्दाको मन भक्कानिन्छ। तर बसाइँ सर्ने सुरक्षित ठाउँ छैन।
रुम खोलो नजिकै बसेको बस्ती बाढीको उच्च जोखिममा छ। खोलाको धार हरेक वर्ष गाउँतर्फ मोडिन्छ। तारापानीसँग जोडिएको सीप गाउँको विद्यालय भवन र अस्थायी प्रहरी चौकी समेत जोखिममा छन्। प्रहरी चौकी दुबै तर्फ खोला भएर घेरिएको छ।
तीन वर्षअघि बाढीले हरियाली तारापानी उजाड बनायो। स्थानीय चन्दाले जिएसएस संस्थाबाट प्राप्त कृषि औजार, सिँचाइ सुविधा, तालिम, विपद् सामग्रीजस्ता सहयोगले जीविकोपार्जन सहज भएको बताउँछिन्। तर समस्या भने तटबन्धको अभाव नै हो।
बाढी र पहिरोले बगाएका खेतबारी, कुलो र बाटोलाई स्थानीयहरूले गैरसरकारी संस्थाको सहयोगमा पुनः निर्माण गरेका छन्। यद्यपि, रातको समयमा भारी वर्षा भएमा सबै बासिन्दा सतर्क भएर बस्न बाध्य छन्। तटबन्धको माग वडादेखि केन्द्रसम्म गरिएको भए पनि कुनै सुनुवाइ भएको छैन।
स्थानीय विजय रावल भन्छन्, “हाम्रो माग सरकारमा पुग्न सकेको छैन। संस्थाले त केही गरेको छ, तर तटबन्धको काम भने अधुरै छ।”
२०७९ सालको असोज १८ गते आएको बाढीले ६० घरधुरीको तारापानीमा ७ घर पूर्ण रूपमा नष्ट गरेको थियो। सरकारले राहत दिने प्रक्रिया अझै अगाडि बढाएको छैन। पीडितको तथ्याङ्क नै नमिलेको भन्दै स्थानीय सरकार चुप लागिरहेको छ। जिएसएस संस्थाले स्थानीय विपद् समूह बनाएर प्रतिकार्यमा सक्रिय गराएको छ।
मानबहादुर बुढा भन्छन्, “संस्थाले बेमौसमी तरकारीका लागि टनेल, सिँचाइ कुलो, बीउ, तालिम, कृषि औजार, यहाँसम्म कि जुत्ता सिलाउने सीपसमेत सिकायो। तर तटबन्ध भने अझै बनेको छैन।”
विपद् सामग्रीहरू अस्थायी प्रहरी चौकीमा राखिएका छन्। हवलदार चन्द्रबहादुर जिसीले विपद् बेलामा सहयोग पुगोस् भनेर सामग्री चौकीमा सुरक्षित राखिएको बताए।
गाउँपालिकाका अध्यक्ष धरमबहादुर शाही भन्छन्, “हामीसँग बजेट सीमित छ। संघीय र प्रदेश सरकारसँग समन्वय गरेर निजी क्षेत्र र संघसंस्थाको सहकार्यमा मात्रै विकास सम्भव छ।”
बाढी र पहिरोको जोखिमबीच स्थानीय महिलाहरूको सजगता बढेको छ। यसले जनधनको क्षति कम गर्न सहयोग पुर्याएको छ। चन्दा योगी र उनका गाउँलेहरूको एउटै अपेक्षा छ— “हामीलाई तटबन्ध बनाएर बाँच्न पाउने व्यवस्था गरिदिनुहोस्।”
