नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले शिक्षा विधेयकमाथिको छलफलका क्रममा कुनै पनि पार्टीको प्रमुख सचेतकद्वारा जारी गरिएको ह्वीप नमान्ने स्पष्ट रूपमा घोषणा गरेकी छन्।
आइतबार प्रतिनिधिसभाको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा बोल्दै सांसद शर्माले दलगत ह्वीप अस्वीकार गर्ने भनाइ राखेकी हुन्।
उनको भनाइपछि नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बैठकमा नियम विपरीतको अभिव्यक्ति आएको भन्दै आपत्ति जनाए। घिमिरे आक्रोशित हुँदै बैठक छाड्ने चेतावनी दिँदै उठेपछि समिति सभापति अमरबहादुर थापाले क्षमायाचनासहित बैठक सहज पारेका थिए। त्यसपछि मात्र सचेतक घिमिरे आफ्नो स्थानमा बसेका थिए।
सांसद शर्माले समितिबाट शिक्षा विधेयक छिटो पारित गरेर संसदमा पेस गर्नुपर्ने पक्षमा आफू स्पष्ट रहेको बताइन्। अघिल्लो बैठकमा समेत उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली विदेश भ्रमणमा रहेको समयमा समेत शिक्षामन्त्रीलाई फोन सम्पर्कमार्फत विधेयक अगाडि बढाउन आग्रह गर्नुपर्ने धारणा राखेकी थिइन्।
