नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले ऋण प्रवाहलाई मात्र व्यवसायको सफलताको आधार मान्न नहुने बताएका छन्। आइतबार बसेको प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा बोल्दै उनले बैंकहरूमा पर्याप्त तरलता रहे पनि व्यवसायी र कृषकमा आवश्यक सीप तथा क्षमताको अभाव भएमा वित्तीय स्रोतको प्रभावकारी उपयोग सम्भव नहुने बताए।
गभर्नर पौडेलले मुलुकको आर्थिक विकासको प्रमुख आधार वित्तीय नीति भएको उल्लेख गर्दै भने, “वित्त नीति अगाडि बढ्यो भने मात्रै हामी बाँकी पक्षहरू कदम मिलाएर अघि बढ्न सक्छौं।”
उनले केन्द्रीय बैंकको परम्परागत भूमिका बैङ्क तथा वित्तीय संस्थाको बैलेंस सिट नियाल्ने मात्र रहेको भए पनि पछिल्लो सय वर्षदेखि अर्थतन्त्रको गहिरो विश्लेषणमा केन्द्रित हुँदै आएको बताए।
पछिल्ला तीन दशकमा बैंकिङ क्षेत्रले ऋण प्रवाहको विभिन्न अभ्यासहरू गरेको स्मरण गराउँदै उनले ऋण दिनु मात्र पर्याप्त नभएको स्पष्ट पारे। “मृगको संख्या नबढाई बाघको संख्या बढ्दैन,” भन्दै उनले सफल उद्यमशीलता विकासका लागि सीप, व्यवस्थापन क्षमता र दूरदृष्टि आवश्यक रहेको तर्क गरे।
