संघीय संसदअन्तर्गतको उपभोक्ता समितिको आइतबारको बैठकमा सांसद अमृतादेवी अग्रहरीले रासायनिक मलको अभावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकारप्रति आक्रोश पोखिन्।
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले सार्वजनिक रूपमा “सरकारले पर्याप्त मल ल्याउन सक्दैन” भन्ने अभिव्यक्तिको तीव्र विरोध गर्दै सांसद अग्रहरीले प्रश्न उठाइन्, “किसानलाई मल दिन सकिँदैन भने मन्त्रीज्यू मन्त्रालयमा किन बसिरहनुभएको छ?”
उनले कृषिमा देखिएको समस्या समाधान गर्न नसक्ने भए मन्त्रालयको नेतृत्व गर्नुपर्ने औचित्य नभएको तर्क गर्दै सरकारलाई गम्भीर रूपमा पुनर्विचार गर्न आग्रह गरिन्।
सांसद अग्रहरीले सीमामा मल लिन पुगेका किसानहरूलाई अवरोध गर्नु अन्यायपूर्ण भएको बताउँदै किसानका समस्याप्रति सरकार उदासीन नहुन चेतावनी दिइन्।
उनको भनाइमा, “किसानको दु:ख बुझ्ने र समयमा मल उपलब्ध गराउने दायित्वबाट सरकार पन्छिन मिल्दैन।”
बैठकमा उनले किसानको पक्षमा बोल्दै सरकारलाई तत्काल सुधारात्मक कदम चाल्न पनि आग्रह गरेकी थिइन्।

