पाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवालाई लक्षित गर्दै नेतृत्वको कमजोरीप्रति कटाक्ष गरेका छन्। पार्टीको सानेपा कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा बोल्दै उनले देउवाले धेरै हँसिया बनाए पनि घाँस काट्न नसकेको व्यंग्यात्मक टिप्पणी गरेका हुन्।
भण्डारीका अनुसार देउवाले पार्टीका धेरै सदस्यहरूलाई पद र जिम्मेवारी दिए पनि ती व्यक्तिबाट अपेक्षित काम हुन नसकेको स्थिति छ। उनले अब प्रधानमन्त्रीको जिम्मेवारी पाएपछि देउवाले गर्ने काम र निर्णयहरू पूर्व तयारीसहित अघि बढ्नुपर्नेमा पनि जोड दिए।
पार्टीको प्रशिक्षण कार्यक्रम सुधार्नुपर्ने बताउँदै उनले विषयवस्तु र प्रशिक्षकको चयनमा परिवर्तन गर्न सुझाव दिए। भातृ संस्थामा चुनाव नभई मनोनयनको अभ्यासले प्रभावकारिता घटाएको उल्लेख गर्दै उनले कार्यसम्पादनमा सुधार ल्याउन पार्टीले प्रक्रिया सुधार्नुपर्ने धारणा राखे।
नेताबीच देखिने विवाद र असमझदारीलाई समाधानतर्फ उन्मुख गरिनुपर्नेमा बल दिँदै, उनले जलस्रोत नीतिको उदाहरण दिँदै सीमान्तकृत वर्गको हितमा पार्टीले स्पष्ट धारणा बनाउनुपर्ने बताए।
पार्टी महाधिवेशनलाई आगामी चुनावमा असर नपर्ने गरी व्यवस्थित ढंगले सम्पन्न गर्नुपर्ने सुझाव दिँदै उनले सामाजिक सञ्जालमा उठेका आलोचनात्मक धारणाहरूलाई पनि गम्भीरतापूर्वक लिन पार्टी नेतृत्वलाई आग्रह गरे।
राष्ट्रपति वा उपराष्ट्रपतिको जिम्मेवारी सम्हालेका व्यक्तिहरू पुनः पार्टीमा सक्रिय भएमा त्यसले राजनीतिप्रतिको वितृष्णा थप्न सक्ने भन्दै उनले गहिरो चिन्ता व्यक्त गरे। निजामती विधेयक पारित गर्दा देखिएको कमजोरी कुनै एक व्यक्तिको नभई सामूहिक रूपमा सांसदहरूको भएको भन्दै सबैले जिम्मेवारी लिनुपर्नेमा उनले जोड दिए।
बैठकमा उनले विद्यालय शिक्षा विधेयक, कृषकका समस्या, युवाशक्ति पलायन, रूपन्देही र मनाङ उपनिर्वाचन लगायतका समसामयिक विषयमा समेत धारणा राखे।
अघिल्लो सातादेखि जारी केन्द्रीय कार्यसमिति बैठक अन्तिम चरणमा पुगेको छ र पदाधिकारीहरूको जवाफपछि निर्णय सार्वजनिक गर्दै बैठक टुंगोमा पुर्याउने तयारी भएको छ।

