सर्लाहीको बागमती नगरपालिका–१२ स्थित चेकपोस्टमा प्रहरीले विशेष सूचनाका आधारमा ठूलो परिमाणमा काजु बरामद गरेको छ।
आइतबार बिहान इलाका प्रहरी कार्यालय कर्मैयाबाट प्रहरी निरीक्षक सुभाष यादवको नेतृत्वमा खटिएको टोलीले मदनपुरबाट काठमाडौँतर्फ जाँदै गरेको ग २ ख १४१८ नम्बरको मिनी ट्रक जाँच गर्दा परालको भुसभित्र लुकाइ छिपाइ ल्याइएको काजु फेला पारेको हो।
हाल बरामद गरिएको काजुको तौल र मूल्य भने खुलाइएको छैन। प्रहरीले ट्रकसहित बरहथवा नगरपालिका–१३ बसबरीया निवासी ५६ वर्षीय चालक राजबंशी झालाई नियन्त्रणमा लिएको छ।
बरामद सामग्री र पक्राउ परेका चालकसहितको ट्रक इलाका प्रहरी कार्यालय कर्मैयामा राखिएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

