निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) बुढानीलकण्ठ र इम्पेरियल वर्ल्ड स्कुलको संयुक्त पहलमा ‘लीडरशिप एण्ड स्कुल कल्चर’ सम्बन्धी एकदिवसीय विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
विद्यालयका नेतृत्व तहका पदाधिकारी, शिक्षक तथा प्रशासकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले इम्पेरियल वर्ल्ड स्कुलमा कार्यक्रमको आयोजना गरिएको हो। बिहान ९ बजेदेखि ४ बजेसम्म सञ्चालन भएको कार्यक्रममा नेतृत्व विकाससँगै विद्यालय संस्कृतिमा सकारात्मक परिवर्तन ल्याउने विषयमा विशेष छलफल भएको थियो।
बुढानीलकण्ठ प्याब्सनका अध्यक्ष राधेश्याम श्रेष्ठका अनुसार, विद्यालयको शिक्षण पद्धतिमा रूपान्तरण कसरी गर्न सकिन्छ भन्ने विषयमा आन्तरिक अनुभव आदान–प्रदानका साथ कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा शिक्षा क्षेत्रमा अनुभवी प्रशिक्षक दीपक श्रेष्ठ र जुनीता कार्कीले प्रशिक्षण प्रदान गरेका थिए।
इम्पेरियल वर्ल्ड स्कुलकी प्रिन्सिपल जुनीता शाही कार्कीले २१औँ शताब्दीको शिक्षालाई प्रभावकारी बनाउन विद्यालय नेतृत्वको भूमिकालाई अझ मजबुत बनाउनुपर्ने धारणा व्यक्त गर्दै, विद्यालयको भिजनसँग नेतृत्वको समन्वय आवश्यक रहेको बताइन्।
कार्यक्रमले नेतृत्व र शिक्षण संस्कृतिको समन्वयमार्फत आधुनिक र प्रभावकारी शिक्षण प्रणाली निर्माणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
