नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश रसाइली (स्नेही) ले पार्टीभित्र क्रियाशील सदस्यता नवीकरणको प्रक्रिया सुस्त भएकोप्रति चिन्ता व्यक्त गरेका छन्।
आइतबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले सभापति, उपसभापति र महामन्त्री पदमा आकांक्षी देखिएका नेताहरूका आफ्नै जिल्ला, क्षेत्र र वडामा समेत सदस्यता नवीकरण ढिलाइ भएको बताएका हुन्।
“महाधिवेशन ढिलो भयो भनेर आलोचना गर्नेहरू नै आफ्नै जिल्लामा क्रियाशील नवीकरण गर्न चासो देखाउँदैनन्,” भन्दै उनले टीकाटिप्पणी गर्दा पहिले आफूले प्रतिनिधित्व गरेको ठाउँको अवस्था हेर्न आग्रह गरे।
रसाइलीका अनुसार दुई सयभन्दा बढी नेताहरूले शीर्ष नेतृत्वका पदमा आकांक्षा व्यक्त गरिरहेका छन्, तर तीमध्ये धेरैको स्थानीय तहमा सदस्यता नवीकरणको काम अझै टुंगिएको छैन। वडास्तरबाट नै प्रक्रिया छिटो अघि बढाउन नेताहरूको सक्रियता आवश्यक रहेको उनले बताए।
त्यस्तै, पार्टीभित्र उत्पन्न विवाद भएका स्थानहरूमा समाधानको प्रयास भइरहेको जानकारी दिँदै उनले नेतृत्वले नवीकरणको काममा गम्भीरता देखाउनुपर्ने आवश्यकता औँल्याए। साथै, पदाधिकारीमाथि आलोचना मात्र गरेर समस्या समाधान नहुने धारणा राख्दै सबैले आ–आफ्नो जिम्मेवारी निभाउनुपर्नेमा जोड दिए।
