श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नाममा रहेको सरकारी गाडी केही समय हराएको भन्दै गृह मन्त्रालय र प्रहरी निकायहरूलाई खोजी गरिदिन अनुरोध गरिएको थियो। मन्त्रालयले असार १५ गते सचिवस्तरीय निर्णय गर्दै गाडी गुम भएको सूचना दिँदै अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउन आग्रह गरेको थियो।
गाडी महेन्द्र स्कोर्पियो ब्रान्डको थियो, जसको नम्बर प्लेट ‘प्रदेश ३–०१–००२ झ ५३६७’ थियो। गाडी हराएको मिति भने मन्त्रालयले पठाएको पत्रमा उल्लेख गरिएको थिएन। मन्त्रालयको अनुरोध पछि गृह मन्त्रालय हुँदै प्रहरी प्रधान कार्यालयबाट इमेलमार्फत उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सूचना पुगे पनि गाडी खोजी सुरु नहुँदै गाडी फेला परेको जानकारी आएको थियो।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी दीपक गिरीका अनुसार गाडी असार १६ गते फेला परेको सूचना इमेलबाट प्राप्त भएको थियो। तर गाडी कहाँ फेला पर्यो र कसरी फिर्ता गरियो भन्नेबारेमा प्रहरीलाई स्पष्ट जानकारी दिइएको थिएन।
यसअघि श्रममन्त्री शरत सिंह भण्डारीले मंसिर १८ गते गोरखापत्रलाई प्रतिक्रिया दिँदै हराएको भनिएको गाडी मन्त्रालयकै सचिवको घरमा रहेको बताएका थिए। तर सोही सचिव कृष्णहरि पुष्करले भने खोजीका लागि पत्राचार गरेका थिए।
यस विषयमा मन्त्रालयले हालसम्म आधिकारिक स्पष्टीकरण दिएको छैन। तर एक कर्मचारीको दाबी अनुसार, श्रममन्त्री भण्डारीले मन्त्रालयको गाडी आफ्नै पार्टी लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई प्रयोग गर्नका लागि पठाएका थिए। ठाकुरका स्वकीय सचिव सत्येन्द्र मिश्रले अध्यक्ष ठाकुरले आफ्नो गाडी बिग्रिएको बेला दुई–चार दिन मन्त्रालयको गाडी प्रयोग गरेको र त्यसपछि फिर्ता गरिसकेको बताएका छन्।
तर, गाडी प्रयोगका लागि मन्त्रालयको आधिकारिक अनुमति नलिइएको, हराएको भन्दै खोजी थालिएको र पछि गुपचुप रूपमा फिर्ता गरिएकाले यस घटनाले सरकारी सम्पत्तिको दुरुपयोग र प्रशासनिक लापरवाहीको संकेत दिएको छ।
