धरान-४ का वडाध्यक्ष धनबहादुर राई मेयर हर्क साम्पाङको श्रमदान अभियानमा निरन्तर सक्रिय रहँदै आएका छन्। यही सक्रियता र सहकार्यको कदरस्वरूप मेयरको टोलीले शनिबार धरान-१७ को पटनालीमा आयोजित श्रमदान कार्यक्रममा उनलाई विशेष सम्मान प्रदान गरेको छ।
तर अर्कोतर्फ, वडाध्यक्ष राईमाथि नेकपा एमालेले आन्तरिक अनुशासन उल्लंघनको आरोप लगाउँदै पार्टीबाट कारबाही सिफारिस गरेको छ। एमाले धरानका अध्यक्ष हर्कजङ्ग एभेङका अनुसार राई पार्टीका कार्यक्रमहरूमा सहभागी नहुनु, पार्टी नेतृत्वविरुद्ध अभिव्यक्तिहरू दिनु र संगठनसँग सम्पर्कमा नआउनुले कारबाही सिफारिस गर्नु परेको हो।
२०७९ सालको स्थानीय चुनावमा एमालेबाट निर्वाचित भएका राई हाल संगठनको मात्र सदस्यका रूपमा रहेका छन्। वडास्तरबाट आएको कारबाही सिफारिसलाई उपमहानगर कमिटीले सदर गरी जिल्ला हुँदै प्रदेश कमिटीमा पठाउने प्रक्रिया अघि बढाइएको एमाले धरानले जनाएको छ।
राजनीतिक मतभेदबीच पनि सामुदायिक कार्यमा देखिएको सहभागिता र सम्मानले यो विषयलाई थप चासोको विषय बनाएको छ।

