पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको राजनीति शुद्धिकरण नगरी अन्य क्षेत्रको सुधार असम्भव रहेको धारणा राखेका छन्। शनिबार काठमाडौंमा चन्द्रलोक प्रतिष्ठानद्वारा आयोजित एक कार्यक्रममा बोल्दै उनले हालको राजनीति विकृति र अस्वस्थ प्रतिस्पर्धाले ग्रसित भएको बताएका हुन्।
उनका अनुसार राजनीति नै अहिलेको प्रमुख समस्या भएको र यसलाई शुद्ध पार्न सकेपछि मात्र ऐन, कानुन र संविधान सुधारतर्फ अघि बढ्न सकिने छ। “राजनीति फोहर भइसकेको छ,” उनले भने, “अब यसलाई सफा गर्न हामी लागिरहेका छौं।”
शिक्षा क्षेत्रसम्बन्धी धारणा राख्दै डा. भट्टराईले निजी क्षेत्रलाई पूर्ण रूपमा अलग गर्न नसकिने उल्लेख गरे। बरु निजी क्षेत्रसँग सहकार्य गर्दै शिक्षा प्रणाली सुधार गर्नुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई योगदानको कदर गर्दै सम्मानसमेत गरिएको थियो।

