उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको समृद्धिका लागि पर्यटन क्षेत्रलाई प्रमुख आधारका रूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देशको आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रमा व्यापक सम्भावना रहेको उल्लेख गरे।
‘समृद्धिका विभिन्न उपायमध्ये पर्यटन एक प्रभावकारी र शक्तिशाली विकल्प हो। यस क्षेत्रमा अपार सम्भावना छन्, जुन क्रमशः लगानीद्वारा विस्तार गर्न सकिन्छ,’ मन्त्री पौडेलले बताए।
उनले सरकारले आन्तरिक र विदेशी लगानीकर्तालाई नेपालमा पर्यटन पूर्वाधारमा लगानी गर्न आकर्षित गर्ने दिशामा कार्य गरिरहेको बताए।
‘राज्यको लगानी मात्रै काफी हुँदैन। निजी क्षेत्रलाई समेत सक्रिय बनाउनुपर्ने आवश्यकता छ। नेपाललाई पर्यटकीय गन्तव्यका रूपमा प्रस्तुत गर्दै स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्न राज्यको भूमिका महत्वपूर्ण हुन्छ,’ पौडेलले स्पष्ट पारे, ‘बजेट निर्माणको क्रममा पनि हामीले पर्यटन पूर्वाधारमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्ने नीति अवलम्बन गरेका छौं।’
